Bagmati Samachar Logo

व्यवसायी मीनबहादुरले एमालेलाई दान दिएको जग्गा लिने बाटो खुल्यो एमालेलाई

काठमाडौं । नेकपा (एमाले) लाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान लिने बाटो सर्वोच्चबाट खुलेको छ।

व्यवसायी गुरूङबाट जग्गा दान लिएको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै अब एमालेले कीर्तिपुरको ढुंगेअड्डामा कार्यालय बनाउन पाउने भएको छ ।

सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेका हुन्।

व्यवसायी गुरूङले असोज २४ गते एमालेको पार्टी कार्यालय शिलान्यास गर्न भनेर १० रोपनी १४ आनाको जग्गा दान दिएका थिए। उक्त जग्गाको मूल्य करिब ५० करोड पर्छ।

व्यवसायी गुरूङले भवनसमेत बनाइदिने भनेका थिए। असोज २५ गते नै एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय शिलान्यास गरेका थिए।

शिलान्यासकै समयमा मात्रै गुरूङबाट दान लिन लागेको खुलेको थियो।

मीनबहादुर भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यक्ति रहेको र मुद्दा किनारा नलाग्दै एमालेले चन्दास्वरूप दान लिएको भन्दै त्यस निर्णय बदर गर्न माग गर्दै ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए।

सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए।

उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गरेका थिए।

रिट दरपीठ बदर भएपछि कात्तिक ७ गते दर्ता भएको थियो। पटकपटक स्थगित भएको उक्त मुद्दा दुई पटक हेर्न नमिल्ने, ७ पटक हेर्न नभ्याइने र एक पटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित भएको थियो।

कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो।