Bagmati Samachar Logo

एक अर्ब ५१ करोड बिगो माग , रविसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रहरीले रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको डिएसपी बसन्त शर्माले जानकारी दिए।

उनका अनुसार सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो।

‘पक्राउ परेकादेखि पक्राउ गर्न बाँकी रहेका सबै गरी ५१ जनालाई प्रतिवादी बनाएर हामीले प्रतिवेदन बुझाएको प्रहरीले जानकारी दिएको छ ।

यीमध्ये कतिपयविरूद्ध पहिल्यै अदालतमा मुद्दा गएर धरौटी वा कारागारमा रहेको अवस्था छ भने धेरैजसो फरार छन्।

यस्तै प्रहरीले एक अर्ब ५१ करोड हाराहारीमा बिगो रकमको दाबी गरेको पनि डिएसपी शर्माले बताए।

प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्नेछ।

भ्याएसम्म मंगलबार नै अदालतमा मुद्दा दर्ता गर्नेगरी सरकारी वकिलको कार्यालयले काम गरिरहेको छ। नभ्याएको अवस्थामा भने सरकारी वकिलले थप हिरासतमा राख्न म्याद माग्ने तयारी गरिरहेको हो।

म्याद नै मागेको अवस्थामा पनि धेरै दिनसम्म मुद्दा दर्ता नगरी राख्न भने मिल्दैन।

प्रहरीले असोज ६ गते पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज ९ गते लिला पछाई पक्राउ परेका थिए ।

रवि लामिछानेलाई कार्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो।

लामिछानेसहित चारै जनाविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी छ।

यी सहकारीबाट गोर्खा मिडिया प्रालि र नेचर्स हर्ब्स लगायतमा ऋण गएको र ती रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

सहकारी ठगीबारे संसदीय विशेष छानबिन समितिले लामिछानेसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो। समितिले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेको थियो।