महासचिव घनश्याम भुसाललाई पेलेरै अध्यक्ष नेपालले गरे नेताहरूको कार्यविभाजन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन भएको ६ महिनापछ ठूलो रस्साकस्सी पछि नेताहरुको कार्यविभाजन गरेको छ । ६ महिनासम्म विभागीय प्रमुख, जनसंगठन र प्रदेशका इन्चार्जलगायत पदहरु रिक्त थिए । पार्टीको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।
जारी बैठक नै विवादका कारण लम्बिएको थियो । कार्यविभाजन गर्ने भनेर छलफल हुँदा सुरुका दुई दिनमा आन्तरिक विवादका कारण जिम्मेवारी तोक्न नसकेको एक स्थायी कमिटी सदस्य बताउँछन् । ती सदस्यले भने, ‘महाचिवको कार्यविभाजनको प्रस्तावमाथि अध्यक्षले हेरफेर गरेपछि कार्यविभाजनमा विवाद भएको थियो ।’ एक दिन महासचिव घनश्याम भुसाल बैठकै छाडेर हिँडेका थिए ।
सुरुमा नेकपा एसमा संगठन विभागको जिम्मा लिनका लागि तीन जना नेताको दाबी थियो( महासचिव घनश्याम भुसाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता वेदुराम भुसाल । अध्यक्ष नेपालले वेदुरामलाई संगठन विभाग दिन चाहेपछि घनश्यामले अनुगमन र निर्देशन विभाग मागेका थिए । तर, त्यो पनि दिन चाहेनन् ।
मोर्चा संगठनमा दाबी गरेका ज्वालालाई प्रचार विभाग दिने, विद्यार्थी संगठनको जिम्मा रामकुमारी झाँक्रीलाई दिने प्रस्तावलाई नेपालले फेरेर अर्को नेतालाई दिन चाहेको नेताहरू बताउँछन् । ज्वालाले पनि मोर्चा संगठनमा दाबी नछाडेका कारण यसको अन्तिम टुङ्गो लागेको छैन ।
इन्चार्जको प्रस्तावमा मध्ये कोशीमा जगन्नाथ खतिवडा, मधेशमा धर्मनाथ साह, बागमतीमा डा। गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा सोमप्रसाद पाण्डे, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशी थिए । तर, यसमा केही थपघट गरेर जिम्मेवारी तोकेको छ ।
सबैभन्दा बढी विवाद बनेको संगठन विभागको प्रमुख वेदुराम भुसाललाई बनाएको छ । संगठन विभागको अनुगमन र मल्याङ्कन विभाग महासचिव घनश्याम भुसालले पाएका छन् । स्कुल विभागको जिम्मा झलनाथ खनालले पाएका छन् । पहिला खनाल विदेश विभाग प्रमुख थिए । मोर्चा संगठन विभागको जिम्मा पाण्डेले पाएका छन् ।
विदेश विभागको जिम्मा प्रमेश हमालले पाएका छन् । प्रचारप्रसार विभागको जिम्मा प्रकाश ज्वालाले पाएका छन् । उनले पनि मोर्चा संगठनमा दाबी गरेका थिए । संघीय तथा प्रादेशिक मामिला विभागको जिम्मा जगन्नाथ खतिवडाले पाएका छन् ।
विद्यार्थी संगठनको जिम्मा रामकुमारी झाँक्रीले पाएकी छन् । युवा संगठनको जिम्मेवारी लक्ष्मण केसीले पाएका छन् ।
त्यस्तै, कोशी प्रदेश इन्चार्ज राजेन्द्र राई, मधेश प्रदेश इन्चार्ज धर्मनाथ साह, बामगती इन्चार्ज गंगालाल तुलाधर, गण्डकी इन्चार्ज श्रीनाथ बराल, लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशी बनेका छन् ।
स्थायी कमिटी चयन गर्दा १७ जना असन्तुष्ट नेताहरूलाई स्थायी समिति सदस्य बनाइएको छ । नेताहरू थपेपछि बैठकमा नै विवाद भएको थियो । स्थायी कमिटी बैठकमा नै एक जना नेताले कुन विधानअनुसार १७ जना स्थायी कमिटी सदस्य मनोनीत भएका हुन् भनेर प्रश्न गरेका थिए । नेकपा एसको विधानमा केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी हुने व्यवस्था छ, जसअनुसार ३८ जनाको स्थायी कमिटी हुन्छ तर अहिले ४४ जनाको स्थायी कमिटी बनाएको छ ।
नेकपा एसले विधान मिचेर स्थायी कमिटीमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई मनोनीत गरिएको छ ।
स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । पहिला सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव थिए । स्थायी कमिटी बैठकले। सचिवहरूलाई पनि सचिवालयमा रहने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: