Bagmati Samachar Logo

एनपीएलको उपाधि जनकपुरले जित्यो , फाइनलमा सुदूरपश्चिम पराजित

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले उपाधि जितेको छ ।

सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरलाई उपाधि दिलाउने ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्त्वपूर्ण ७३ रनको साझेदारी गरे ।

जनकपुरको जितमा मिलान्थाले अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । साथै हर्ष थाकेरले २४ बल खेल्ने क्रममा दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले ९ र जिमी निशमले ४, आकाश त्रिपाठीले२ र मयन यादवले २ रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरूले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा ८ चौका र २ छक्काको साहरामा ६९ रन बनाए । साथै विनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीनरतीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एकरएक विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुनेले १५ लाख प्राप्त गर्ने छ ।