बुबा र भाइका हत्यारा मिलनले पत्रिका देखाउँदै प्रहरीलाई भने– ‘यो मान्छे मै हुँ’
काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले महाराजगञ्ज प्रहरी वृत्तमा आफूले नै बुबा र भाइको हत्या गरेको स्वीकारेका छन् । उनी आफैँ मंगलबार बिहान हातमा पत्रिका बोक्दै प्रहरी वृत्त महाराजगञ्ज गएर त्यहाँका प्रहरीलाई आफूले बोकेको पत्रिका देखाएर ‘यो मै हो’ भनेको प्रहरीले जानकारी दिएका छन् ।
उनले यसअघि दसैँमा घर जाँदा पनि बुबा र आमाको हत्या गर्ने योजना बनाएको तर असफल भएको बयान दिएका छन् ।बुबा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको उनको दाबी छ । भक्तपुरमा नै पासो लगाएर झुण्डिएको तर भाग्यवस बाँचेको उनले प्रहरीलाई बयान दिएका छन् ।
लोक सेवामा ६–७ पटक फेल भएपछि जिन्दगीदेखि दिक्दार भएर डिप्रेसनमा गएको उनले बयान दिएका छन् । सबैतिर असफल भएपछि जिन्दगीमा केही नहुने भयो भनेर विरक्तिएर बाँच्न मन नलागेको उनले बताएका छन् ।
उनका बुबा पनि डिप्रेसनको बिरामी भएको प्रहरीसमक्ष बयान दिएका छन् । उनको भनाइ भन्दै एक प्रहरीले भने, ‘बुबाले एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दसैँमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर, वातावरण नै मिलेन । अहिले बुबा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौँ भन्ने लागेर बुबा र भाइलाई मारेँ ।ु
उनले बुबा र भाइको हत्यापछि भक्तपुरकै बिरुवामा गएर गलबन्दीको पासो लगाए पनि सफल नभएको बताएका छन् । उनले बयानमा भनेका छन्, ुपासो नलागेर बाँचेपछि फेरि म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चाबहिलको सगरमाथा होटलमा कोठा लिएर दुई रात बसेँ ।ु
प्रहरीका अनुसार, आज बिहान पत्रिकामा आफ्नोबारेमा समाचार देखेको र त्यही पत्रिका बोकेर महाराजगञ्जको प्रहरी वृत्त पुगेर पत्रिका देखाई ‘यो मान्छे म नै हुँ’ भनेका थिए ।
उनी बुबा र भाइको हत्या गरेर बाहिरबाट ढोकामा ताला लगाएर भागेका थिए । उनको खोजी प्रहरी गरीरहेको थियो । तर भेटाउन सकेको थिएन । उनी आफै प्रहरीमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: