Bagmati Samachar Logo

माओवादी केन्द्रीय समिति बैठकमा उठ्यो विशेष महाधिवेशनको माग, होला त विशेष महाधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन गर्नुपर्ने माग उठेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केहि केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन गर्नुपर्ने र त्यसको मिति यही बैठकबाट तोक्नुपर्ने माग गरेका छन् ।

पूर्वसभामुख तथा स्थायी समिति सदस्य ओनसरी घर्तीले पनि विशेष महाधिवेशनको माग गरेकी छन् । बैठकमा आफ्नो धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने माग राखेको एक केन्द्रीय सदस्यले शिलापत्रलाई बताए । उनले भने, ‘ओनसरी कमरेडले पनि विशेष महाधिवेशन गर्नुपर्ने माग राख्नुभयो । विचारको बहस हुनुपर्ने र भावी नेतृत्वको विषयमा पनि छलफल हुनुपर्छ ।’

बैठकमा आफ्ना धारणा राख्दै सुदन किराँतीले यही बैठकबाट विशेष महाधिवेशनको मिति तोक्न माग गरेका छन् । उनले भनेका छन्, ‘यही बैठकबाट विशेष अधिवेशनको मिति घोषणा गरौँ । केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौँ, प्रचण्ड नेतृत्वको आवश्यकतालाई फेरि पुष्टि गरौँ । विचार र विधि अपानाउँदै जाऊँ ।’

उनले माओवादीको कुशल नेतृत्वका कारण पार्टी सदस्यहरूमा गर्वको महसुस भएको पनि बैठकमा बताएका छन् । उनले भनेका छन्, ‘देशको नेतृत्व गर्न अनुशासित र शक्तिशाली पार्टी चाहिन्छ । माओवादीले विधि निर्माण गरेर जानु अहिलेको आवश्यकता हो । प्रतिवेदन ठीक छ तर कार्यान्वयनमा चुनौती छ ।’

किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र प्रचण्डलाई लेनिन भनेर प्रशंसा गरेको एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘ओलीमा स्टालिन प्रवृत्ति देखिएको छ । अधिभूतवादी बढी छ । तर, प्रचण्डमा लेनिनभन्दा पनि बढी जनवादी प्रवृत्ति छ । समग्रमा सकारात्मक परिस्थितिको घनत्व हाम्रो पक्षमा बढाएको छ ।’

किराँतीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको पनि बताएका छन् । ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउन सक्नुपर्छ । आलोचनाभन्दा माथि राखौँ । हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौँ । उदाहरणीय बनाऔँ । १२ हातकी सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ ।’

केन्द्रीय सदस्य ओम शर्माले प्रतिवेदनमा सहमत भए पनि रेल कोइलाबाट नचल्ने हुँदा नयाँ तरिका अपनाउनुपर्ने धारणा राखेका छन् । शर्माको भनाइ भन्दै एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्ड ५ सय वर्षसम्म अध्यक्ष होऊन् तर यसको विधि के हो रु विधि चाहियो । विधिबिना केही पनि हुँदैन । विशेष महाधिवेशन गरेर जाऔँ । नेतृत्वको पनि विधि स्थापित गरौँ । विधि भनेको महाधिवेशनमा जाने कुराले तय गर्छ ।’

केन्द्रीय सदस्य लक्ष्मण पन्तले नेतृत्व, विचार र संगठनको विषय हल गरेर जानुपर्ने बताएका छन् । उनले भने, ‘कम्युनिस्ट पार्टीको नेतृत्वको सवाल के हो रु नेतृत्व प्रणाली कस्तो बनाउने भने किटान गरेर जानुपर्छ । प्रतिवेदन सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेछ । लागू हुनुपर्छ ।’

केन्द्रीय सदस्य जगप्रसाद शर्माले पनि महाधिवेशनको मिति तोकेर जानुपर्ने माग राखेका छन् । उनले भनेका छन्, ‘प्रतिवेदनमा सहमत छु । यही बैठकबाट महाधिवेशनको मिति तोकेर जानुपर्छ । केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलौँ । नेतृत्व हस्तान्तरणबाट कोही तर्सनु आवश्यक छैन ।’

केन्द्रीय सदस्य हरि ज्ञवालीले दस्तावेज ऐतिहासिक हुने तर कार्यान्वयन नहुने समस्या रहेको बताएका छन् । उनले भनेका छन्, ‘दस्तावेज ऐतिहासिक हुन्छ । तर, कार्यान्वयनमा समस्या छ । परामर्श बैठकमा बोल्दा कारबाहीमा परेको छु ।’

केन्द्रीय सदस्य सर्पराज सिंहले व्यक्तिगत सम्पत्तिको ५ प्रतिशत पार्टीमा लगाउन माग गरेका छन् ।

केन्द्रीय सदस्य कुशल लिम्बूले पूर्वउपराष्ट्रपति पार्टीमा आउनेबारेमा के हो, स्पष्ट हुनुपर्ने, कोशी प्रदेशको नामकरणका बारेमा पनि पार्टीको धारणा स्पष्ट नभएको बताएका छन् ।

बैठकमा प्रचण्ड पक्षका नेताहरूले सबै माओवादी धार र विचार मिलेका कम्युनिस्टसँग एकता गरेर एकताको महाधिवेशन गर्नुपर्ने माग राखेका छन् ।

प्रचण्ड पक्षका अधिकांश केन्द्रीय सदस्यले नियमित महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष कमरेडका पक्षहरूले नियमित महाधिवेशनको माग गर्नुभयो । उनीहरूले सबै पूर्वमाओवादीसँग एकता गरेर एकता महाधिवेशन गर्न सुझाव दिएका छन् ।’

केन्द्रीय सदस्य हिमाल शर्माले केन्द्रीय सदस्य बोल्नुभन्दा पहिला जनार्दन शर्मा बोल्नुपर्ने माग गरेका छन् । उनको भनाइ भन्दै एक सदस्यले भने, ‘हामीहरू बोल्नुभन्दा पहिला जनार्दन शर्माले बोल्नुपर्थ्यो । अनि मात्र विजय र एकताको बैठक हुन्थ्यो । हामी मात्र पहिला बोल्दा कसरी विजय र एकताको बैठक होला ?’

केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले नेतृत्वको विकल्प होइन, रुपान्तरण आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘सानातिना कुरा दस्तावेजमा नलेखौँ । नेतृत्वको विकल्प अहिले खोज्ने बेला भएको छैन । नेतृत्वको रुपान्तरण आवश्यक छ । कार्यविभाजन मापदण्ड बनाएर गरौँ ।’

केन्द्रीय सदस्य शैलेन्द्र घिमिरेले पार्टीको पक्षमा जनमत भएकाले आन्तरिक छलफलमा रुमलिनुभन्दा जनतामा जान सुझाव दिएका छन् । उनले भनेका छन्, ‘जनतामा गएर पार्टी बलियो बनाऊँ । आन्तरिक बहसमा नरुमल्लिऔँ । पूर्वमाओवादीसँग एकता गरेर नियमित महाधिवेशनमा जाऔँ ।’ केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण पार्टीलाई बुझाउने विषय कडाइका साथ लागू गर्नुपर्ने माग राखेका छन् ।

केन्द्रीय सदस्य कुमार बोगटीले योगलाई दस्तावेजमा राखेर राजनीतिक विषयलाई डाइभर्ट गर्न खोजिएको हो कि भनेर प्रश्न गरेका छन् ।
केन्द्रीय सदस्य आशा कोइरालाले संगठन विधिमा चलाउनुपर्ने बताएकी छिन् ।