रवि लामिछानेसँग रुपन्देहीमा १ करोड धरौटी माग,बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2025/01/ravi-768x478.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । आइतबार थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।
सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
लामिछानेसँग यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो । दुई अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अब लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।
लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् ।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: