Bagmati Samachar Logo

विद्यार्थीको चुनावसम्म आइपुग्दा पार्टीभित्र गुटगत स्वार्थ प्रस्ट देखियो : अग्नि सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र गुट उपगुटको विकास भइरहेको बताएका छन् । मंगलवार काठमाडौँमा प्रेस सेन्टर नेपालको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सापकोटाले गुटगत विकासका कारण स्वार्थ प्रस्ट देखिएको बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र विचार होइन गुट उपगुट विकास भइरहेको छ । विद्यार्थी चुनावसम्म आउँदा यो गुटगत स्वार्थ प्रस्ट देखिन्छ । विद्यार्थीको चुनावका कारण केन्द्रीय समितिले निर्णय गरेको कार्य विभाजनसम्बन्धी कार्य ढिला भएको छ । अब छिटो निर्णय हुन्छ । आगामी दिनमा माओवादी सुदृढ भएर जाने र अध्यक्ष प्रचण्डदेखि सबै नेताहरू श्रममा जोडिने छौँ ।’

भर्खर सकिएको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादीलाई जनतातिर फर्काएको र पार्टीले जितेको १२३ पालिकालाई मोडेल पालिकाको रूपमा विकास गर्दै समाजवादी मोडेलमा विकास गर्ने उनले जिकिर गरे ।

यसैगरी बैठकमा उनले केपी ओली नेतृत्वको सरकार संसद् फेस गर्ने आँट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश ल्याएको आरोप लगाए । उनले भने, ‘सरकार संसद्सँग भागिरहेको छ किनभने यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन । ओली सरकारको जगमा बिचौलिया र भ्रष्टाचार छ । संसद् फेस गर्ने आट नभएर बिचौलियालाई फाइदा हुने गरी अध्यादेश आयो ।’

संविधान संशोधन गर्ने भए प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री नहुने विषय माओवादीको लाइन रहेको प्रस्ट पारे ।