Bagmati Samachar Logo

मोर्चा बनाएर नै विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्न नहुने बताएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्दै उनले अहिले एकता नभए मोर्चामा अभ्यास गरेर जानुपर्ने बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी एकता गर्न प्रचण्ड तयार नभएको आरोपको खण्डन गर्दै प्रचण्डले भने, ‘पार्टी एकतामा प्रचण्डले अरुचि गर्‍यो कि भने जसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन् । त्यस्तो होइन, म तत्काल एकता गर्ने पक्षमा छु । तर हतारोमा एकता गर्दा असफल भएको विगतका अनुभव छन् । मोर्चा बनाएर नै विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ । यसको मतलब कछुवाको गतिमा वर्षौ लगाउने भन्न खोजेको होइन ।’

यस्तै उनले समाजवादी मोर्चालाई राष्ट्रिय राजनीतिको विकल्पको रूपमा उभ्याउनुपर्ने बताए ।

‘समाजवादी मोर्चा जागरूक नहुने हो भने देश दुर्घटनामा जाने सम्भावना छ । मोर्चालाई यथास्थितिवादी र प्रतिगामीविरुद्ध एकताबद्ध भएर रणनीतिक केन्द्र बनाउने उद्देश्यसहित विकल्पको रूपमा उभ्याउनुपर्छ’, उनले भने, ‘सबैले मेहनत गरेमा मोर्चाबाट अलग भएका जसपा नेपालको दुवै घटकलाई पनि मोर्चामा ल्याउन सकिने सम्भावना छ ।’

यसैगरी माओवादीका कारण मोर्चाको गतिविधि सुस्त नभएको जिकिर गर्दै प्रचण्डले सबै पार्टीको आन्तरिक बैठक, राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण ढिलासुस्ती भएको स्पष्ट पारे ।

अहिले एकताभन्दा पनि आ–आफ्ना पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।