Bagmati Samachar Logo

अखिल क्रान्तिकारी चुनावमा शर्मा पक्षले पदाधिकारीमा बहुमत ल्याउदा ‘हेडक्वार्ट’ लाई धक्का

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भातृ संगठन अखिल क्रान्तिकारीको चुनावबाट धक्का लागेको छ । असोजमा सुरु भएको क्रान्तिकारीको सम्मेलन बल्ल तल्ल माघमा सकिएको छ । माघमा सकिएको सम्मेदलनमा नेतृत्व चयनका लागि भएको चुनावमा उपमहासचिव जनार्दन शर्मा पक्ष बहुमत भएपछि अध्यक्ष प्रचण्डलाई धक्का लागेको छ । शर्माले अध्यक्ष प्रचण्डलाई चुनौती दिँदै आएका थिए । विद्यार्थीको चुनावबाट थप धक्का दिएका छन् । अझ बहुमत पार्टीका पदाधिकारी एक तर्फ मिलेर जादा पनि शर्मा एक्लैले विद्यार्थीको चुनावमा बहुमत ल्याएका छन् ,

चुनावमा हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका अध्यक्ष विजय सापकोटा बाहेक अधिकांश पदाधिकारी पराजित भएका छन् । उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवमा शर्मापक्षले धेरै सिट जितेको छ । उपाध्यक्षमा ममता अधिकारी, अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका हुन् । यस्तै आचार्य प्रचण्डनिकट हुन् । ढकाल, जैशी र थापा स्वतन्त्र हुन् ।

महासचिवमा शर्मापक्षका रोशन थापामगर, ९ उपमहासचिवमध्ये सात, ११ सचिवमध्ये ६ जना र एक कोषाध्यक्ष निर्वाचित भएका छन् । यसरी हेर्दा पार्टीमा एकल्याइँदा पनि प्रचण्डलाई चुनौती दिइरहेका शर्माले क्रान्तिकारीको चुनावबाट थप शक्ति आर्जन गरेको देखिएको छ ।

अध्यक्षमा भने हेडक्वार्टरनिकट मानिएका विजय सापकोटाको अग्रता छ । उपमहासचिवमा एक जना नारायणकाजी श्रेष्ठनिकट र एक जना वर्षमान पुननिकट विजयी भएका छन् । हेडक्वार्टर भने शून्य भएको छ ।

क्रान्तिकारीको चुनावमा पार्टीका बहुमत पदाधिकारीहरू अध्यक्ष प्रचण्डसँग मिल्दा पनि शर्मा एक्लैले विद्यार्थीमा बहुमत ल्याएका छन् । अखिल क्रान्तिकारीको चुनावमा शर्माको प्यानल, वर्षमान पुनको प्यानल, नारायणकाजी श्रेष्ठको प्यानल र हेडक्वार्टरको प्यानल होमिएका थिए, जसमा शर्माको प्यानलले अरुलाई पाखा लगाइदिएको छ ।

महासचिवमा शर्मानिकट रोशन थापामगर विजयी भएका छन् । थापामगरले ६०१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । महतो हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका थिए ।

थापामगरले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्टतर्फ स्नातक गरेका छन् भने त्यसै क्याम्पसबाट शहरी योजनामा स्नातकोत्तर पनि हुन् । उनी क्रान्तिकारीमा सचिव थिए । पहिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु सभापति थिए ।

महासचिवमा थापामगरसँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्यामबहादुर रोक्का, सञ्जयकुमार महतो र सञ्जीव फुयाँल प्रतिस्पर्धामा थिए । उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेश प्रदेशबाट गजेन्द्र यादव विजयी भएका छन् । उनले ४०७ मत ल्याएका छन् ।

बागमती प्रदेशबाट निर्मला गौतम विजयी भएकी छिन् । उनी ८०७ मत ल्याएर विजयी भएकी हुन् । गण्डकीबाट भगवान् बाँस्तोला विजयी भएका छन् । उनले ७६९ मत ल्याएका छन् । लुम्बिनीबाट रेशम अधिकारी विजयी भएका छन् । उनले ६२८ मत ल्याएका छन् ।

कर्णालीबाट प्रकाश अधिकारी विजयी भएका छन् । उनले ६०४ मत ल्याएर विजयी भएका हुन् । सुदूरपश्चिमबाट रामचन्द्र भट्ट विजयी भएका छन् । उनले ३९९ मत ल्याएका छन् । उपत्यका विशेषबाट निरोज श्रैष्ठ विजयी भएका छन् । उनले ४०६ मत ल्याएका छन् ।

विश्वविद्यालयबाट जटिल कार्की विजयी भएका छन् । उनले ६६८ मत ल्याएका छन् ।

यादव,गौतम, बाँस्तोला, अधिकारी, भट्ट, अधिकारी र कार्की शर्मानिकट हुन् । नौवटा उपमहासचिवमा सातवटा उपमहासचिव शर्मा प्यानलबाट विजयी भएका छन् । पोखरेल उपमहासचिव वर्षमान पुननिकट हुन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्, जसमा कोषाध्यक्षमा फुलमाया रानामगर ९खुसी० निर्वाचित भएकी छन् । फुलमायाले ५९६ मत ल्याएकी छिन् । उनी शर्माको टिमबाट कोषाध्यक्षमा उम्मेदवार बनेकी हुन् ।

यस्तै, सचिव खुलामा सम्झना राई, प्रेम जैशी ९मामा०, वीरेन्द्र जीसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जीसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।

चार जना सचिवमा जीसी र राई शर्मानिकट हुन् । जैशी उपमहासचिव वर्षमान पुननिकट हुन् । बस्याल महासचिव देव गुरुङनिकट हुन् । यसैगरी, सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । पुन शर्मानिकट र आलेमगर वरिष्ठ उपाध्यक्ष श्रेष्ठनिकट हुन् ।

जनजातितर्फ आर्टिस्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । मोक्तान पनि शर्मानिकट हुन् । दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । उनी हेडक्वार्टरनिकट हुन् ।

यस्तै, मधेशमा अमर मण्डल ४६० मत प्राप्त गर्दै विजयी भएका छन् । खस आर्यमा ६१४ मत प्राप्त गर्दै जितेन्द्र भण्डारी र शहीद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यसमा मण्डल, मावो शर्मानिकट हुन् भने भण्डारी हेडक्वार्टरनिकट हुन् ।

उपमहासचिव पुननिकट विद्यार्थीको पदाधिकारीमा एक उपमहासचिव र एक सचिव जितेका छन् । माओवादीको महाधिवेशनताका माओवादीमा सबैभन्दा बलियो गुट पुनको मानिन्थ्यो । तर, बिस्तारै पुनको गुट कमजोर हुँदै गयो । यता शर्माको गुट बलियो हुँदै थियो ।

विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा पुनको गुट छिन्नभिन्न भएको छ । शर्माको गुट बलियो भएको छ । अर्का उपमहासचिव शक्ति बस्नेतले असन्तुष्टहरूलाई जम्मा गरेर नयाँ गुट बनाएका छन् । तर, उनको गुटले पनि विद्यार्थी चुनावमा प्रभाव देखाउन सकेन ।

पुनले सुदिन पौडेल र बस्नेतले विजय सापकोटालाई अध्यक्षमा अगाडि सारेपछि दुवै नेताबीच दूरी बढेको छ । बस्नेतले सापकोटालाई अध्यक्ष प्रचण्डको ९हेडक्वार्टर० को समर्थन रहेको भनेर प्रचारप्रसार गरेका थिए ।

शर्मा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्यानल बनाएर चुनावमा होमिए । अध्यक्षमा हेमन्त राई, महासचिवमा थापामगर र कोषाध्यक्षमा राना मगरलाई उम्मेदवार थिए ।

यी हुन विजयी पदाधिकारी

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारीव
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः सम्कृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फूलमाया रानामगर