Bagmati Samachar Logo

स्ववियु चुनावको परिणामले उत्साहित प्रचण्डले भने– माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् ।

बिहीबार जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले माओवादी एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताएका हुन् ।

विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उनले बताए । गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गरे । जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिविरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको उनको भनाइ छ ।