स्ववियु चुनावले उत्साहित अखिल क्रान्तिकारी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावले आफूहरूको पक्षमा लहर देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल ९क्रान्तिकारी० को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ ।’
स्ववियु चुनावमा अखिल क्रान्तिकारीले थुप्रै क्याम्पसहरूमा सत्ता गठबन्धनलाई पनि पराजित गरेको बताएको छ । अखिल क्रान्तिकारीले केही स्थानमा अनेरास्ववियु र नेविसंघले गठबन्धन गर्दा पनि जितेको छ । अनेरास्ववियु र नेविसंघले वर्षौंदेखि जित्दै आएका केही क्याम्पसहरू मा पनि अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
अनेरास्ववियुले जित्दै आएको विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अखिल क्रान्तिकारीले जितेको छ । सो संगठनका रोहित यादव सभापतिमा निवर्वाचित भएका छन् । काठमाडौंको जनप्रशासन क्याम्पसमा पनि अखिल क्रान्तिकारीले जित हात पारेको छ । जनप्रशासन क्याम्पसमा अनिकित तिवारी विजयी भएका छन् ।
बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका छन् ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सचिव पदमा क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । पुल्चोकको स्ववियु सचिवमा दिवस सापकोटा र थापाथलीको स्ववियु सचिवमा जेसिस उपाध्याय विजयी भएका छन् । सानोठिमी ०६५ सालदेखिको निरन्तरता हो भने अन्य क्याम्पसमा क्रान्तिकारी पहिलोपटक विजय भएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा पनि २० वर्ष देखि नेविसंघले जित्दै आएको थियो । तर योपटक अखिल क्रान्तिकारी विजयी भएको छ ।
संगठनले स्ववियुमा लोकप्रिय उम्मेदवार उठाउनु र संगठनले विद्यार्थीबीच राम्रो काम गर्दा अन्य संगठनले जित्दै आएका क्याम्पसमा क्रान्तिकारीले जितेको संगठनको दाबी छ ।
त्यस्तै अनेरास्ववियुले जित्दै आएको महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ विजयी भएको छ । नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छिन् ।
अनेरास्ववीयुले पहिला जित्दै आएको योपटक पनि जित्छौँ भन्ने ओभर कन्फिडेन्सका कारण केहि क्याम्पसमा पराजित हुनु पुगेको अनेरास्ववियुका नेता बताउछन् ।
अनेरास्ववियु र नेविसंघले गठबन्धन गर्दा पनि पराजित भएका छन् । भोजपुरको भोजपुर बहुमुखी क्याम्पस विगत लामो समयदेखि अनेरास्ववियुले जित्दै आएको थियो । योपटक नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरेका थिए । तर अखिल क्रान्तिकारीले गठबन्धनलाई पराजित गरेको छ । क्रान्तिकारीका सोविन तामाङ सभापतिमा विजयी भए ।
नेविसंघ र अनेरास्ववीयुले जिल्ला जिल्लामा आफ्नो अनुकूलतमा गठबन्धन गरेको थियो तर पनि क्रान्तिकारीले पराजित गरेको छ ।
सधैँझै योपटक पनि अहिलेसम्मको परिणाम हेर्दा नेविसंघ पहिलो संगठन बनेको छ । नेविसंघले जित्दै आएको नेपालगन्ज नर्सिङ क्याम्पस गुमाएको छ ।
तर थापाथली इन्जिनियरिङ क्याम्पस जितेको छ । केही क्याम्पसमा अनेरास्ववियुसँग गठबन्धन गरे पनि पराजित भएको छ ।केही क्याम्पसमा उम्मेदवारी चयनमा लोकप्रिय नेताहरूलाई भन्दा आफ्नो गुटकालाई टिकट दिँदा पराजय भोग्नु परेको नेविसंघका नेता बताउछन् ।
अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख तीन संगठनको नै वर्चश्व देखिएको छ । नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारी ।
नेविसंघ ११३ सहित पहिलो संगठन भएको छ भने दोस्रोमा रहेको अनेरास्ववियुले ९१ स्थानमा जितेको छ । तेस्रो स्थानमा रहेको अखिल क्रान्तिकारीले ८९ स्थानमा जितेको छ । नेविसंघले आफ्ना विरासत कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्: