पूर्वउपराष्ट्रपति पासाङ राजनीतिमा सक्रिय भएको ८ महिना पनि माओवादीले बनायो उपाध्यक्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । यहि चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्ष मनोनीत गरिएको हो उनी निकट एक नेताले बताए । ती नेताले भने,‘आज पिकनिकको कुरा गर्न उहाँको निवासमा गएका थियौँ । उहाँले आफूलाई अस्तिको बैठकबाट उपाध्यक्ष मनोनित गरेको कुरा बताउनु भएको हो ।’
यसअघि गत साउन २६ गतेबाट पासाङ माओवादीको पदाधिकारी बैठकमा सहभागी हुन थालेका हुन् । पुसमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।
२०७९ साल फागुनमा उनको उपराष्ट्रपतिको कार्यकाल सकिएको थियो । साउनबाट उनी पार्टीका बैठकमा सहभागी हुन थालेका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।
पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो ।
गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।
गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् ।
तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।
जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: