Bagmati Samachar Logo

माओवादीको आन्तरिक विवादका कारण प्रदेश सह–इन्चार्जहरू हटाइए

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरू हटाएको छ । माओवादीको भरखरै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो ।

माघमा सिनियर नेताहरुलाई पाखा लगाएर जुनिएर नेताहरुलाई सहइन्चार्ज बनाएको भन्दै माओवादीमा विवाद भएको थियो । विभिन्न प्रदेशका सहइन्चार्जहरुमा जुनियर नेताहरु भएकाले सिनियर नेताहरुले विरोध गदै आएका थिए । विरोेधका कारण पदाधिकारी बैठकले सहइन्चार्ज हटाएको एक माओवादी नेताले बताए । उनले भने,‘सबै प्रदेशमा सिनियर नेताहरु पछाडि पारेर जुनियर नेताहरुलाई सहइन्चार्ज बनाएका थिए । सिनियर नेताहरुले त्यसको विरोध गदै आउनु भएको थियो । सहइन्चार्ज तोकेको छोटो समयमा हटाएका हुन् ।

कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बागमति प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल , गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनाएको थियो ।

त्यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनाएको थियो । सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देबेन्द्र पराजुली र मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई सहइन्चार्ज बनाएको थियो ।

माओवादीको केन्द्रीय समिति बैठक पुसमा बसेको थियो । नेताहरुको जिम्मेवारी माघमा तोकेको थियो । तर निर्णय कार्यन्वयन नहुदै सहइन्चार्जको जिम्मेवारी हटाइएको छ ।