Bagmati Samachar Logo

राप्रपाको सभामा राजेन्द्र लिङदेनले भने दुर्गा प्रसाईंलाई पक्रनुपर्थ्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेशको आयोजनामा काठमाडौंको बल्खुमा मंगलबार भएको खबरदारी सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ गते तीनकुनेमा भएको अराजकताको जिम्मेवार दुर्गा प्रसाईं भएको जिकिर गरेका छन् । लिङ्देनले १५ चैतको आन्दोलनमा प्रहरीलाई गाडीले कुल्चिन खोज्ने प्रसाईंलाई प्रहरीले पक्रनु पर्ने बताएका छन् । उनले भने, ‘ दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो । तर, उनलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो । मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्सायो ।’

बल्खुमा भएको राप्रपाको कार्यक्रम सुरु नहुँदै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, राप्रपाले शान्तिपूर्ण रूपमा मञ्चकेन्द्रित कार्यक्रम गर्‍यो ।

१५ गते चैतमा विवादीत मेडिकल व्यापारी दुर्गा प्रसाईले आयोजना गरेको सभा राप्रपाले समर्थन गरेको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायत सहभागी भएका थिए । तर सभा सुरु नहुदै प्रसाईले प्रहरीमाथि गाडि कुदाउन खोजेपछि सभा नै विथोलीएको थियो । सभा आन्दोलनमा परणित भएको थियो । जसमा दुई जनाको ज्यान जाने गएको थियो । २० जनाभन्दा बढी प्रहरीको गोली लागेर घाइते भएका छन् ।

काठमाडौं राप्रपा जिल्ला अध्यक्ष नवराज सिम्खडा, केन्द्रीय सदस्य कुन्ती पोखरेल, सहमहामन्त्रीद्वय उज्ज्वलकृष्ण श्रेष्ठ र रवीन्द्रप्रताप शाह, सांसद दीपकबहादुर सिंह, प्रवक्ता ज्ञानबहादुर शाही, उपाध्यक्ष एवं सांसद रोशन कार्की, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र लोहनी पूर्वअध्यक्ष पशुपति शमशेर राणा र अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीका फत्राउ परेका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरे ।

लिङ्देनले राप्रपा अराजकता र हिंसामा विश्वास नगर्ने प्रस्ट पारे । ‘राप्रपा जसले जेका लागि भए पनि गर्ने हिंसाको विरुद्धमा छ’, उनले भने, ‘हामी अराजकतामा भविष्य देख्दैनौँ । शान्तिपूर्ण प्रदर्शनबाटै आफ्ना मान्यताहरू स्थापित गर्न सक्छौँ भन्नेमा विश्वास गर्छौं ।’

उनले १५ चैतमा राज्यकै तर्फबाट हिंसा भएको आरोप लगाए ।