Bagmati Samachar Logo

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति, तीन मुद्दा लगाउने तयारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो ।

बिहीबार राती भारतको आसाममा पक्राउ परेका प्रसाईलाई शुक्रबार प्रहरीले झापाबाट पक्राउ गरेको बताएको थियो । आजै उनलाई आसामबाट झापा हुदै काठमाडौं ल्याइएको हो । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले बताए ।

घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।

दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।

फौजदारी कार्यविधि संहिताअनुसार सरकार बादी भएर अदालतमा दर्ता हुने मुद्दा सुरुमा कसुर दर्ता किताबमा दर्ता गरेर अनुसन्धान अघि बढाइन्छ । प्रसाईं विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार नै ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरेको थियो ।

चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।

तर, प्रहरी स्रोतका अनुसार प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो ।

थुनुवा पोसाक (ज्याकेट) मा उनलाई प्रहरीले अदालतमा उपस्थित गराएका थियो । म्याद थप भएसँगै उनी प्रहरीको घेरामा हाँस्दै अदालतबाट बाहिरिएका थिए ।

यसअघि भद्रपुर विमानस्थलमा भने प्रसाईंले प्रहरी नियन्त्रणकै बिच सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘ म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है ।’

उनी भारतमा पक्राउ परेको बताइएपनि प्रहरीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।