Bagmati Samachar Logo

आफ्नै पार्टीका प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव बुझाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझाव पत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझाव पत्र दिएको महासचिव पोखरेलले अवगत गराए ।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे । प्रधानमन्त्री ओलीले विकासका लागि भिजनरी सोच भएको एमाले जस्तो पार्टीले केन्द्रीय विभागहरूको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमामा लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

एमालेले मध्यपहाडी लोकमार्गको संकल्प यात्रको क्रममा पनि सुझाव संकलन गरेर अघिल्लो सरकारलाई बुझाएको थियो ।