तोकेको म्यादभित्र दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएका छन् ।
शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाउने तयारी भएको बताएका छन् ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभई नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
त्यस्तै मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौँमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताए । शान्तिपूर्ण भेला हुन पाउने अधिकार, संविधान विपरीतको कार्यका लागि प्रयोग गर्दा हिंसात्मक घटना भएको भन्दै उनले त्यसमा संलग्न सबैलाई कारबाही हुने स्पष्ट पारे । उनले मुलुकमा राजतन्त्रको कुनै गुञ्जायस नरहेको समेत जिकिर गरे ।
उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाई रोक्न लागिपरेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्: