Bagmati Samachar Logo

गृहजिल्ला ताप्लेजुङमा योगेश भट्टराईलाई शुरक्षा दिन ‘शौचालयमा थुनियो’

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको चर्चा राजनीति वृतमा व्यापक भइरहेको छ ।

कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि शुक्रबार गृहजिल्ला ताप्लेजुङ पुगेका योगेशविरुद्ध ‘नो केबलकार’ समूहले नाराबाजी गरेका थिए। त्यसपछि उनी लगत्तै शौचालय पसेका थिए।

स्थानीयका अनुसार आन्दोलनकारीबाट असुरक्षा देखिएपछि प्रहरीले योगेश पसेको शौचालयको ढोकामा चुकुल लगाइदिएर नाराबाजी गरिरहेका समुहबाट सुरक्षित बनाएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक विवेक बस्नेतले भने सामाजिक सञ्जालमा भाइरल भएजस्तो घटना नभएको बताए ।‘त्यस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर आफैँ शौचालय जानुभयो’, प्रहरी निरीक्षक बस्नेतले भने, ‘पछि सुरक्षित रूपमा काठमाडौँ प्रस्थान गर्नुभयो।’

प्रत्यक्षदर्शीले भने प्रहरीले नाराबाजीमा उत्रिएको भीडलाई तितरबितर पार्दै नेता भट्टराईलाई शौचालयदेखि हेलिप्टरसम्मै सुरक्षा दिएर प्रहरीले लगेको बताउछन् ।

महोत्सव उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसँग शुक्रबार हेलिकोप्टर चढेर फक्ताङलुङ गाउँपालिका ६ लेलेप पुगेका थिए।

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा एमाले सचिव भट्टराईले केबलकार बन्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा उनी विरुद्ध नो केबल कार समुहलले नाराबाजी गरेका थिए ।