Bagmati Samachar Logo

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त, स्त्रीद्वेषी अभिव्यक्तिका कारण विवादमा आएका थिए

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री पन्तको शपथ भोलि हुने जनाइएको छ । पन्तको वरीयता ८ औं नम्बरमा छन् । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाभन्दा वरीयता पछि छन् । आरजु ७ औं नम्बरमा छन् ।

शिक्षक आन्दोलन जारी रहेकै बेला शिक्षामन्त्री विद्या भट्टाराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

साथै, प्रधानमन्त्रीकै सिफारिसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् ।

यससँगै ओली नेतृत्वको सरकार २४ सदस्यीय भएको छ ।

२०७७ फागुन १५ गते शनिबार काठमाडौँस्थित सामाखुसी, ग्लोबल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलामा रघुजी पन्तले दिएको अभिव्यक्ति निकै विवादित भएको थियो।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा सञ्चारकर्मी एवं तत्कालीन राष्ट्रिय सभाकी सांसद कोमल वलीको नाम लिएर विवादित अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरू लागेका छन्। केपीको पार्टीमा पनि त्यस्ता महिला छन्। तर तिनले टिकट पनि पाएनन्। कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन्। कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन्। उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन्। ’

उनको त्यस अभिव्यक्तिको सार्वजनिक तहबाटै व्यापक आलोचना त भएको थियो नै, कोमल वलीले अक्षम्य भन्दै अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामा २०७८ माघ १४ गते वली र पन्तबीच मिलापत्र भएको थियो ।